logo
Advertisement
hatemalonews
World

उत्कृष्ट शैक्षिक नतिजा प्रदान गर्ने सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार, संस्थागततर्फ सम्मान

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालयलाई नगदसहित पुरस्कार तथा संस्थागत विद्यालयहरुलाई सम्मान प्रदान गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले सामुदायिक शिक्षाको गुणस्तर सुधारमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

Sarita Koirala

Sarita Koirala

Senior Political Correspondent

5 hours ago5 min4.0K19
Share
Kathmandu Metropolitan City education award ceremony

Kathmandu Metropolitan City education award ceremony

असार १९, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, नतिजा प्रदान गर्ने शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै नगदसहित पुरस्कार प्रदान गरेको छ । यस्तै संस्थागत विद्यालयहरुलाई सम्मान प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८२ मा प्राप्त नतिजाका आधारमा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनसहित अधिकारीहरुले सम्मान प्रदान गर्नुभएको हो ।

त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढाएको बताउनुभयो । बालबालिकाहरुमा भएको अन्तरनिहीत क्षमता चिनाउने शिक्षकहरुको गुण अतुलनीय रहेको र यो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका शिक्षकहरुलाई मर्यादित पेशा प्रदान गर्न महानगरपालिका सदैव तत्पर रहेको उहाँले बताउनुभयो। शिक्षा तथा स्वास्थ्य समितिका संयोजक महर्जनले समाजमा विद्यमान आर्थिक सामाजिक असमानतालाई समान बनाउने क्षमता शिक्षामा मात्र भएको र समतामूलक समाज निर्माणका लागि शिक्षामा लगानी बढाउँदै लगिएको बताउनुभयो।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार सम्मान कार्यक्रम २०७९ सालबाट रोकिएको थियो, जसलाई यस वर्षदेखि निरन्तरता दिइएको छ र आगामी वर्षदेखि कक्षा १२ सम्मका विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि पुरस्कार र सम्मानमा जोडिनेछ । कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा अनिवार्य अवकाश हुने ५० जना शिक्षकशिक्षिकालाई पनि सम्मानित गरियो ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपियाँसहित सम्मानित गरियो, जसमा ज्ञानोदय मा. वि.बाट २१ जना, विश्वनिकेतन मा. वि.बाट ३ जना, रत्नराज्य र तरुण मा. वि.बाट २–२ जना र शिवपुरी मा. वि.बाट १ जना विद्यार्थी सामेल थिए । यस वर्षको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थीलाई ग्रेडेड गर्ने बाल सेवा मा. वि. झोँछेँ, बाल व्यावसायी केन्द्र मा. वि. सिफल, श्रम राष्ट्रिय मा. वि. कुमारीगाल र केन्द्रीय बहिरा मा. वि. नक्साललाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गरियो ।

एसईईमा उत्कृष्ट नतिजा प्रदान गर्ने विषयगत शिक्षक सम्मान अन्तर्गत अनिवार्य र ऐच्छिक विषयका गरी ९ जना शिक्षकलाई जनही २५ हजार रुपियाँसहित पुरस्कृत गरियो । सबैभन्दा बढी औसत स्तरीकृत अंक प्राप्त गर्ने विद्यालयहरुलाई पनि सम्मान गरियो — सामुदायिकतर्फ ज्ञानोदय मा. वि., तरुण मा. वि. र विश्व निकेतन मा. वि.लाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपियाँ प्रदान गरियो भने संस्थागततर्फ विजकिड एकेडेमी, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र मेरिडियन इन्टरनेशनल स्कूललाई सम्मान गरियो ।

कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई पनि पुरस्कृत गरियो, जसमा संस्थागततर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, काञ्जीरोवा नेशनल स्कूल र निसर्ग बाटिका स्कूल तथा सामुदायिकतर्फ विश्व निकेतन मा. वि., पद्मोदय मा. वि. र भानु मा. वि. समावेश थिए । उत्कृष्ट नतिजा दिने विषय शिक्षकहरुलाई पनि जनही २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो ।

#Education#Kathmandu Metropolitan City#SEE Results
Sarita Koirala

Sarita Koirala

Senior Political Correspondent